Thaha

Saturday 21 September - 8:06 pm NST

काठमाडौंमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउनका लागि  निगमद्धारा सप्लायर्सहरुसँग प्रस्ताव माग

काठमाडौं, २१ असोज । काठमाडौंमा पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउनका लागि नेपाल आयल निगमले सप्लायर्सहरुसँग प्रस्ताव माग गरेको छ । निगमले आज सूचना प्रकाशित गर्दै कुनै पनि मुलुकबाट इन्धन खरिद गरी जुनसुकै मार्गबाट काठमाडौंमा तत्काल उपलब्ध गराउन इच्छुक देशि–विदेशी सप्लायर्सलाई तीन दिन भित्र प्रस्ताव पेश गर्न भनेको छ ।

निगमले हाललाई १५ दिनका लागि दैनिक डिजेल २ सय किलोलिटर पेट्रोल १ सय किलोलिटर, हवाइ इन्धन र मट्टितेल २ सय किलोलिटर र एलपी ग्याँस करिक १ सय मेट्रिक टन आयात गर्न लागेको हो । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन भित्रन नसकेपछि निगमले तत्कालिन विकल्पका रुपमा सप्लायर्समार्फत ल्यान लागेको हो ।

दशैं नजिकिएकाले काठमाडौं उपत्यकाबाट बाहिरिन चाहने नागरिकलाई समस्या नहोस् भन्नका लागि तत्कालिन विकल्पका रुपमा प्रस्ताव आव्हान गरिएको निगमले जनाएको छ । त्यसका लागि निगमले स्टक रहेको तेल सार्वजनिक सवारीलाई दिएर पनि आवतजावत सहज बनाउने तयारी गरेको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो । निजी सवारीलाई भने तेल उपब्ध गराउन कठिन हुने उहाँले बताउनुभयो । उहाँका अनुसार आज पनि काठमाडौं उपत्यकामा हिजोकै परिमाणमा डिजेल र पेट्रोल वितरण गरिनेछ ।